कमरेड प्रचण्डलाई जनताको ह्वीप लाग्दैन ?
शिरज शर्मागण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएसँगै राजनीतिमा नयाँ बहस सुरु भएको छ । जम्मा २७ सिट भएको नेपाली कांग्रेसले ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन आवश्यक ३१ मत कसरी पायो ?
सोमबार प्रदेश सभामा मतदान हुँदा कांग्रेसका २७ सहित राप्रपाका २, नेपाल समाजवादी पार्टी (नेसपा)का १ र स्वतन्त्र सांसद १ गरि पाण्डेको पक्षमा ३१ पुगे । केन्द्रदेखि अन्य प्रदेशमा प्रचण्ड-ओली ‘सिन्डिकेट’ चलिरहँदा गण्डकीमा किन चलेन ? यही सोचेर एमाले संसदिय दलका नेता एवं पुर्व मुख्यमन्त्री खगराज अधिकारी र माओवादी संसदिय दलका नेता हरिबहादुर चुमानले तुरुन्तै नाराबाजी गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरे। त्यसपछि सभामै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नाराबाजी सुरु गरे। उनीहरुको यो भद्दा मजाक धेरै बेर टिकेन। परिणाम सार्वजनिक भएसँगै मुख्यमन्त्री पाण्डेको सरकार जोगियो ।
अब त्यसपछि माओवादी भित्र अर्को ‘रोइलो’ सुरुभयो । हाम्रो सत्ता सिन्डिकेट भत्काउन खोज्ने भन्दै नेसपा सांसद फणीन्द्र देवकोटा माथी जाइलागे। कुट्न,पिट्न र चिथोर्न पाउने भए त्यै सभा भित्र फणीन्द्रको हविगत अर्कै हुन्थ्यो ! धन्न माओवादीले आफ्नो असली रुप त्यहाँ देखाएन ! फणीन्द्र त्यहाँबाट निस्केर पत्रकार सम्मेलन गर्न भ्याए । त्यतिबेला सम्म माओवादीले फणीन्द्र माओवादीको सांसद हुन् र उनलाई माओवादीको ह्वीप लाग्ने भएकोले ह्वीप उल्लंघन गरेकोमा कारबाही हुने भनेर सर्वत्र प्रचार गरिसकेको थियो।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईको निर्वाचन क्षेत्र मागेर गोरखा २ बाट चुनाव जितेका हुन् । संयोग के पनि हो भने गण्डकीका मुख्यमन्त्री पाण्डे र नेसपाका सांसद देवकोटा पनि प्रचण्डकै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा (१) र (२) का निर्वाचित सांसद हुन् । निर्वाचन जितेपछि प्रचण्डले गोरखा २ का जनता र त्यहाँ गरिएको सबै बाचा बिर्सेका छन् । तर, पाण्डे र देवकोटाले असली जनप्रतिनिधिको काम गरिरहेका छन् । सायद यो कुरा पनि प्रचण्डलाई पाच्य भएन।
अब कुरा गरौ फणीन्द्र माओवादी हुन् कि नेसपा ? गोरखा पालुङटारका फणीन्द्र माओवादी आन्दोलनदेखि नै बाबुराम भट्टराईसँग निकट हुन् । उनी राजनीतिमा इमानदार र विचारमा स्पष्ट नेता हुन् । बाबुरामले नयाँ शक्ति पार्टी घोषणा गर्दा उनी पार्टीको मुख्यसचिव थिए । त्यस यता उनी बाबुरामकै पार्टीमा केन्द्रिय भुमिकामा छन् । चुनावको समयमा संविधानले दिएको अधिकार प्रयोग गरेर उनले अर्को पार्टीको चुनाव चिन्ह लिएर चुनाव लडे र निर्वाचित भए । माओवादी, कांग्रेस, नेकपा एकीकृत समाजवादी समेतसँग फणीन्द्रको दल नेसपाको पनि गठबन्धन थियो। प्रचण्डले पनि त्यही गठबन्धनबाट चुनाव जितेका हुन् । सुरेन्द्र पाण्डेको पनि त्यही गठबन्धन हो।
चुनावपछि प्रचण्ड नेकपा माओवादीको सांसद भए जस्तै पाण्डे नेपाली कांग्रेस र देवकोटा नेपाल समाजवादी पार्टीको सांसद भए । प्रदेश सभाको अभिलेखमा पनि देवकोटा नेसपा सांसद हुन् भन्ने नै स्पष्ट उल्लेख छ। अब प्रश्न उठ्छ नेसपा र माओवादी एउटै हो त ? किन नेसपा सांसदलाई माओवादीले ह्वीप लगाउन खोज्यो ? के फणीन्द्रले आफ्नो दलको निर्णय नमानेर अर्को दलको ह्वीप मान्नुपर्ने हो ?
यदि फणीन्द्रले सांसद भएर पार्टी अनुशासन बिपरित कुनै गतिविधि गरेका छन् भने उनको पार्टी नेसपाले नै उनलाई कारबाही गर्ने होइन र ? पछिल्लो सन्दर्भलाई नै हेर्ने हो भने पनि कांग्रेसका मुख्यमन्त्रीलाई मत दिएको बारे उनको पार्टी सहमत छ कि छैन ? माओवादीले के भन्छ वा एमालेले के ठान्छ भन्ने कुरामा देवकोटालाई के चासो ! कुनै अर्को पार्टीलाई सोधेर निर्णय लिनुपर्ने हो भने देवकोटाको दलिय हैसियत र ब्यक्तिगत स्वतन्त्रता खै त ? पन्चायतकालमा अञ्चलाधीशलाई सोधेर प्रधानपन्चले निर्णय गरेजस्तो हरिबहादुर चुमानलाई सोधेर फणीन्द्रले निर्णय गर्ने हो र ? हरिबहादुर चुमानले अञ्चलाधीशले राजालाई बिन्ती बिसाएजस्तो प्रचण्डलाई बिन्ती बिसाए भन्दैमा फणीन्द्रले डराउनुपर्छ र ? लोकतन्त्र प्रचण्ड वा चुमानलाई मात्रै आएको हो कि फणीन्द्र र गोरखाली जनतालाई पनि आएको हो ? यो विषयमा बाबुराम बोल्नुपर्छ प्रचण्ड होइन। नेसपाले निर्णय गर्नुपर्छ माओवादीले निर्णय गर्ने होइन ।
अब कुरा गरौं कमरेड प्रचण्डको। देशभरका २७५ निर्वाचन क्षेत्रमा कतै खुट्टा टेक्ने ठाउँ नपाएपछि बाबुराम निवास टोखा पुगेर उनका नाति युगिनलाई काखमा राखेर गोरखा-२ को लागि रोइकराइ गरेको होइन र ! अनि बाबुरामले बिना शर्त आफ्नो निर्वाचन क्षेत्र छाडेर काँधमा बोकेपछि चुनाव जितेको कुरा सबैलाई थाहा छ नि कमरेड । नत्र यो सत्ता ! यो उथलपुथल ! यो हालहुकुम ! अनि मोदी प्रिय हुनेसम्म कसरी सम्भव हुन्थ्यो होला र ? आफ्नो सत्ताको लागि हरेक पटक उथलपुथल र गठबन्धन फेरिरहने, लोकतान्त्रिक मूल्य मान्यताको समेत ख्याल नगरी पार्टी बिभाजनमा सघाउने,राजदूत फिर्ता बोलाउने,प्रदेशका संरचना भत्काउन उक्साउने काम राम्रो होइन।
यदि संझना छ भने चुनावमा गोरखाका जनतालाई प्रचण्ड आफैंले भनेका थिए प्रधानमन्त्री मै हुन्छु,मुख्यमन्त्री पनि गोरखाले पायो र प्रदेशमा मन्त्री पनि पायो । त्यै सभामा रहेका पाण्डेलाई भावी मुख्यमन्त्री र फणीन्द्रलाई प्रदेश मन्त्री भनेर दिएको वचन पूरा गर्नु को साटो उल्टै लखेट्ने प्रयास प्रचण्डले गरेका छन् । त्यसैले कमरेड प्रचण्ड झुठ, झुठ र फेरि पनि महाझुठ बोल्ने बानी त्यागौ र गोरखाका ती तमाम मतदाताको अगाडि गएर माफी मागौं । गण्डकी प्रदेश सभामा भएको बिषयमा फणीन्द्रले होइन प्रचण्डले जनताको ह्विप उलंघन गरेका छन् ।
तसर्थ, एकपटक प्रचण्डले गोर्खाली जनताको मन दुखाएकोमा माफी माग्दा राम्रो होला। आफ्नो गल्ती ढाकछोप गर्न फणीन्द्रलाई कारबाही गर्छु भन्दै कुर्लनुले झन् कमजोर बनाउनेछ।गोर्खाली जनतामा अझैपनी कमरेड प्रचण्डको भन्दा फणीन्द्रकै प्रभाव र बिश्वास बढी छ। यसलाई नबुझी फणीन्द्र माथी कारबाहीका कुराले ०८४ मा कतैबाट उठ्न नसक्ने भएपछि एमालेमै पार्टी विलय गराउने बाहेक अन्य विकल्प बाकी नरहन सक्छ ।
अहिले पनि गोर्खाली जनताले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा बाबुरामलाई गाली गरिरहेका छन् । चुनाव जितेपछि विकास र समृद्धि होइन गठबन्धन फेरबदल र उथलपुथल मात्रै गरेका प्रचण्डले एकपटक जनताको बिचमा गएर गल्ती भयो भन्नु बुद्धिमानी हुनेछ ।