
‘दिमाग खराब’ अर्थात ‘मिसन-८४’
फिल्म समिक्षाभनिन्छ चलचित्र समाजको ऐना हो। कुनै चलचित्रको एउटै सम्बाद वा कलाकारको छोटो अभिनयले पनि कहिलेकाहीँ समाजको चित्रण गर्दछ। त्यसले पुरै सामाजिक परिवेश,देशको राजनीति र शासन सत्ताको अवस्थालाई चलचित्रले छर्लङ्ग पारिदिन्छ। तर, त्यै चलचित्रमा नियतबस कुनै दृश्य,सम्बाद वा कलाकारको अभिनयलाई जबर्जस्त घुसाइयो भने त्यसको अर्थ हुन्छ ‘मिसन’ !


हो,अहिले हलमा लागिरहेको र थोरै शो दिने हो भने हलबाट उतार्छौ अर्थात अब चलाउदैनौ भनेर निर्देशक र निर्माताको तर्फबाट ‘धम्किपुर्ण’ बिज्ञप्ति समेत जारी भएको चलचित्र हो ‘दिमाग खराब’ । निश्चल बस्नेत निर्देशित र खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई र अर्पण थापा अभिनित यो चलचित्रले बजारमा दुईथरी प्रतिक्रिया पाइरहेको छ।

निश्चलले यसपटक फिल्म भित्र राजनीति घुसाएका मात्रै छैनन् पुरै फिल्मलाई राजनीतिक मिसन बनाएका छन् । अर्थात उनको यो चलचित्र आगामी आम निर्वाचन-०८४ लाई लक्षित गरि अहिलेदेखि ‘अभियान नगर’बाट प्रचारको शुरूवात गरेका छन् । अभियान नगरपालिकाको एक भ्रष्ट मेयरका विरुद्ध गाउँकै दुई युवालाई ‘स्वतन्त्र’को नाममा बिद्रोह गर्न उक्साइएको छ। जब कि तिनै युवा आफ्नो काम बन्छ भन्ने आशमा भ्रष्ट मेयरलाई नै १०० भोट खोज्न दौडिरहेका देखिन्छन् तर, पछि तिनैलाई नेता बनाएर चुनाव जिताइन्छ। त्यो पनि राजनीतिक दलको रातो झन्डालाई जनताको खुट्टाले कुल्चेर जबर्जस्त निलो रंगको झन्डालाई विजयोल्लास मनाउन प्रयोग गरिन्छ।
बुझ्नेलाई इशारा काफी छ भने जस्तै हिजो २०७९ को चुनावमा बालेन शाह र रवि लामिछानेको टिमलाई साथ दिएका निर्देशक निश्चल बस्नेत र नायीका स्वस्तिमा खड्काले त्यसैको निरन्तरता फिल्ममा दिएका छन् । अनुमान होइन सत्य नै के हो भने फिल्ममा देखाइएको दृश्य जस्तै अब उनीहरुको अभियान ‘मिसन-०८४’ सम्म जानेछ।
निर्देशक बस्नेतले यसपटक चलचित्र निर्माणमा मात्रै समय,दिमाग र पैसा लगाएका छैनन् । पुराना दल र तिनका नेता खराब हुन् अनि नयाँ भनिएका दल र केही स्वतन्त्रको नाममा उदाएका ब्यक्ति महान हुन् भन्ने भास्य निर्माण गर्न समेत समय र पैसा खर्चेको देखिन्छ।
फिल्म नराम्रो छैन । तर,नाम चाहिँ दिमाग खराब भन्दा नियत खराब राख्नुपर्ने ! चलचित्र निर्माण नै अरुलाइ खराब देखाएर आफू राम्रो देखिनुपर्ने नियत बाट बनेको छ। पात्रको अभिनय र कथा लाई भन्दा बढी फिल्मले ‘मिसन-८४’ बोकेको देखिन्छ। यसले कुनै दल वा अमुक पात्रलाई फाइदा पुर्याउनकै लागि चलचित्र निर्माण गरिएको हो भन्ने बजार हल्लालाई बल पुर्याउछ। त्यसैगरी युटुबर बोकेर सामाजिक अभियन्ता बन्नेहरुलाई पनि चलचित्रले झापड हानेको छ। फिल्ममा राजनीतिक मसला भित्र हाँस्यरसको अचार मिसाउने प्रयास गरेको भएपनी पात्रको अभिनय र अहिलेको राजनीतिक परिवेशले गर्दा दर्शकले हासो भन्दा बदला,बिद्रोह र द्वन्द्व रुचाउँछन् ।
पत्रकार ऋषि धमला वा प्रकाश सुवेदी शो मा गएर राजनीति अनि समाज परिवर्तनको पक्षमा वकालत गर्ने निर्देशक दम्पतीले दर्शक हँसाउने लोभमा कानुनलाई नै चुनौती दिनेगरी यौन दुर्व्यवहारजन्य दृश्य चलचित्रमा राख्नु दु:खद हो।भद्दा र समाजमै अपाच्य हुने सम्बाद राखेर समाज परिवर्तन कसरी हुन्छ ? चलचित्रको उदेश्य मिसन-०८४ नै हो भने त्यसपछिको कानुन र समाज यस्तै हुने हो त ?
राजनीतिमा सुधारको वकालत गर्ने र भ्रष्टाचार विरुद्ध अभियान चलाउने सन्देश दिन खोजेका निर्देशकले अविवाहित नायकलाई यौन कुण्ठित र यौन दुर्व्यवहारजन्य गतिविधि गर्ने पात्रको रुपमा देखाउन आवस्यक छ र ? अनि त्यै पात्रलाई पछि चुनाव जिताएर नयाँ नेतामा स्थापित गराउनु कति मिल्यो ?
काठमाडौंमा घर भएकी युवती र चुडिएको चप्पल पटक-पटक जोडेर लगाउने हैसियतको युवा बिच कसरी माया बस्यो भन्ने पनि चलचित्रमा खुल्दैन । अनि धनी घरकी युवती अर्काको घरमा कपडा धोएर परिवार पाल्ने तर,सरकारी स्कुलमा छोरी पढाउन नसक्ने कसरी ? पछि बोर्डिङ स्कुलबाट बिल आएपछि मात्रै दर्शकले त्यो कुरा थाहा पाउछन् । चलचित्रको पुरै अवधी एक जोर चप्पल फेर्न नसक्ने कंगाल पात्रलाई भ्रष्ट नेताको विरुद्ध चुनावमा उठाउन खोज्नु तर,परिवारको लागी कुनै आम्दानीको स्रोत जुटाउन प्रयास नै नगरेको देखाउनु भनेको त्यै चुनाव चिन्ह ‘चप्पल’ देखाउन मात्रै यत्रो दु:ख गरिएको हो।
यसर्थ,गएको स्थानीय र प्रदेश अनि प्रतिनिधि सभा निर्वाचनमा बालेन्द्र शाह, हर्क साङपाङ र रवि लामिछानेको चुनावी प्रचार मोडलबाट निर्देशक बस्नेत प्रभावित भएको स्पष्ट देखिन्छ। नेताको बिरोध गर्ने तरिकादेखि चुनावी प्रतिस्पर्धा र मतगणनाहुँदै विजयोल्लास सम्म त्यो शैलीले निरन्तरता पाएको छ।
चलचित्रको अन्तिम दृश्य सम्म आइपुग्दा निर्देशकले नबोलेरै पनि दलीय रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रवर्द्धन गर्न रङमा चलाखी गरेर ‘मिसन-०८४’ सम्म साथ दिन खोजेको कुरा स्पस्ट गरेका छन् । हिजो माओवादी जनयुद्धको समर्थनमा ‘आगो’,लाल सलाम,जनयुद्ध हुँदै कांग्रेस नेता वीर गणेशमान जस्ता चलचित्र बनेकै हुन् । आज रवि लामिछाने, हर्क साङ्पाङ वा बालेन शाहको कथामा चलचित्र बन्नु नराम्रो होइन । निर्देशकले खुलेरै यस्ता चलचित्र निर्माण गर्न कस्सिए राम्रै होला !
Comments

