को हुन् छिरिङ दोर्जे लामा ? जो बागमती प्रदेशसभामा दोस्रोपटक पुग्दैछन्

प्रतिक भट्ट

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा धेरै युवा उम्मेदवारको आकर्षण छ । राजनीतिक दलका समर्थक र शुभेच्छुक कार्यकर्ता बाहेक आम जनताको माग र चाहना पनि युवा र स्थानीय भैदिए भन्ने नै देखिन्छ ।

अर्कोतिर आफुले मत दिएर जिताएको नेताले राजनीतिलाई नै पेशा, राजनीतिलाई नै व्यापार र राजनीतिलाई नै कमाउने ठाउँ नबनाओस भन्ने चाहना पनि जनताको छ । त्यसैगरी आफुलाई परेको बेलामा साथमा भैदियोस र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासम्म कुरा पुर्‍याउन सक्ने होस भन्ने पनि जनताको अपेक्षा देखिन्छ ।

साँच्चै जनताले खोजेको जस्तै एक युवा उम्मेदवार हुन् बागमती प्रदेश काठमाडौ क्षेत्र नम्बर-३ (क) का उम्मेदवार छिरिङ दोर्जे लामा । उनी यस अघिको निर्वाचन २०७४ मा पनि यसै क्षेत्रबाट बागमती प्रदेशको सांसद निर्वाचित भएका थिए । काठमाडौं-६ बौद्ध निवासी स्थानीय र जनताको लागि योग्य उम्मेदवार हुन् छिरिङ ।

कतिपय उम्मेदवार चुनावको समयमा मात्रै जनताको बिचमा आउने र चुनाव जितेपछि बेपत्ता हुने अवस्थाको विकल्प पनि हुन छिरिङ । राजनीतिलाई कमाउने ठाउँ भन्दा पनि समाजसेवाको रुपमा लिने मध्यका युवा नेता छिरिङ २०५५ सालमा नेपाली काङ्ग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघबाट त्रिचन्द्र कलेज स्ववियु सदस्य भएपछि राजनीतिमा अगाडि बढेका हुन् ।

हाल उनी नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य समेत छन् । अहिले काङ्ग्रेसका महामन्त्री गगन थापा स्ववियु सभापति हुँदा छिरिङ सदस्य थिए । त्यसपछि २०५९ सालमा स्ववियु सहसचिव हुँदै नेविसंघको महाधिवेशनबाट केन्द्रिय सह-महामन्त्री सम्म भएका छिरिङ अहिलेको धमिलिएको राजनीति भित्र पनि असल नियत भएका युवा नेतामा पर्दछन ।

राजनीतिलाई पेशा होइन समाजसेवाको रुपमा लिएका छिरिङले सामाजिक संस्थामा बसेर पनि जनतासँग जोडीएर काम गरेका थुप्रै उदाहरण छन् । २०६४ मा बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक भएर बौद्ध क्षेत्रको बिकास, संस्कृती र धार्मिक काममा उनले उल्लेखनीय भुमिका खेलेका छन् ।

भु-गर्भशास्त्रमा स्नातकोत्तर गरेका छिरिङ पेशाले भुगर्भबिद् पनि हुन् । उनले राजनीतिमा सक्रिय हुँदा पनि केही समय डेरी व्यवसाय समेत गरे । त्यसैले पनि उनी पैसा कमाउन राजनीति नगरेको बताउँछन् । आफ्नो परिवार धर्ममा आस्था राख्ने र यस भन्दा अगाडिको जन्ममा राम्रो काम गरेको कारण सम्पत्ति कमाउन गलत काम गर्नै नपरेको र पुर्खाको कमाइले नै आफुलाइ पुगेको उनी बताउछन् ।

‘मेरो परिवारको आर्थिक अवस्था कमजोर थिएन र छैन पनि’, परेवान्युजसँगको कुराकानीमा उनले भने- ‘काठमाडौंको बौद्धमा जग्गा र घरबाट आउने आम्दानीले खर्च गर्न पुगेको छ, मलाई अन्य लोभ छैन, जनताको सेवा गर्न पाए पुग्छ ।’

अघिल्लो पटक बागमती प्रदेश सभामा पुगेपछि के-के काम गर्न सकियो ? भन्ने प्रश्नमा उनी भन्छन्- ‘गर्नुपर्ने धेरै थियो, त्यसमा सकेजति गरेको छु जस्तो लाग्छ, तर केही अधुरो पनि छन् त्यसैको लागि पुनः सोही ठाउँमा जनताको मन जितेर जान जनताको घरदैलोमै आएको छु’ ।

अघिल्लो कार्यकालमा विशेषगरी प्रदेस मामिला समितिको ‘बागमती प्रदेश विपद जोखिमयुक्त क्षेत्र पहिचान’ उपसमिति संयोजक भएर काम गरेको र प्रदेशको १३ वटै जिल्लामा पुगेको कारण हरेक ठाउँको विकासको काम र सामाजिक अनि धार्मिक कार्यमा के-के काम भए र के बाँकी छ भन्ने उनले बुझेका छन् । उनले जोखिमयुक्त क्षेत्रको रिपोर्ट तयार गरी सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् । त्यसैले यो क्षेत्रको भौतिक पुर्बाधारका कामहरु र सामाजिक कार्यमा अझै बाँकी अधुरो काम पूरा गर्न प्रदेश सभामा नै उम्मेदवारी दिएको उनको भनाइ छ ।

समृद्धि, विकास र लोकतन्त्र सुदृढ गर्न अझै आफु लाग्ने भन्दै पुनः जनताको सेवक भएर काम गर्ने अवसर उनले खोजेका छन् । ‘हो म एकपटक फेरि जनताको मतबाट निर्बाचित भएर संसदमा पुग्ने आशा राख्छु’, छिरिङ भन्छन्- ‘मेरो यो चाहना व्यक्तिगत स्वार्थको लागि होइन, देश र जनताको कामको लागि हुनेछ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय