प्रचण्डले छाडेको चितवन-३ मा होला त महाभिडन्त ?
प्रतिक भट्टचितवन, १ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छाडेको चितवन निर्वाचन क्षेत्र नम्बर-३ मा यसपटक मंसिर-४ को चुनावमा महाभिडन्त हुने निश्चित छ ।
२०७४ सालको निर्वाचनमा एमाले-माओवादी तालमेलबाट माओवादी अध्यक्ष प्रचण्ड विजयी बनेका थिए । प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पान्डेलाई १० हजार बढी मतले हराएका प्रचण्ड यसपटक भने गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट चुनावी प्रतिस्पर्धामा छन् ।
चितवन क्षेत्र नम्बर-३ मा यसपटक ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेको आधिकारिक उम्मेदवार छैनन् । नेपाली काङ्ग्रेसले गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डा.भोजराज अधिकारीलाई सघाएको छ भने नेकपा एमालेले अप्रत्याशित रुपमा गठबन्धनका बागी उम्मेदवार नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालालाई सघाएको छ । अर्का प्रतिस्पर्धी राप्रपाका उपाध्यक्ष विक्रम पान्डे छन् । त्यसैगरी यो क्षेत्रमा जगन्नाथ पौडेल पनि बागी उम्मेदवारको रुपमा मैदानमा छन् ।
सत्ता गठबन्धनका नेपाली काँग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले गठबन्धनका साझा उम्मेदवार डा. अधिकारीलाई समर्थन गरेका छन् । त्यसैगरी एमालेले बागी उम्मेदवार कोइरालालाई समर्थन गरेको छ । उनी सोमबारसम्म पार्टीले उम्मेदवारी फिर्ता गर्न दिएको अल्टिमेटम सकिएपछि स्वत: पार्टीको कारवाहीमा परिसकेका छन् । नेपाली काङ्ग्रेसको विधानअनुसार उनको पार्टी सदस्यता निष्क्रिय भैसकेको छ ।
यसैगरी चितवन-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे र भरतपुर महानगरपालिकाको निर्वाचनमा मेयरमा बागी उठेका काङ्ग्रेस नेता जगन्नाथ पौडेल पनि भिडन्तमा देखिएका छन् । पाण्डेले सुरुमा एमालेको साथ पाउने आशा राखेपनि देशभरमा राप्रपालाई एमालेले तालमेल गर्दा दिएको ३ सिटमा उनि परेनन् । एमालेले झापामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देहीमा दिपक बोहरा र बाँकेमा धवल शमशेर राणालाई मात्रै सघाउने भएको छ ।
त्यसैगरी काङ्ग्रेसबाट नै बागी उठेका जगन्नाथ र दिनेशका बिचमा पनि तालमेल हुने अवस्था देखिएन । यद्यपि दिनेशलाई एमालेको साथ मिल्यो भने जगन्नाथलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सघाउने बुझिएको छ ।
यो क्षेत्रमा गएको स्थानीय तह निर्वाचनमा दलका तर्फबाट वडा अध्यक्षले पाएको मतलाई मात्रै आधार मान्ने हो भने नेकपा एमाले पहिलो पार्टी देखिन्छ । यद्यपि एमाले र काङ्ग्रेसको फरक मत ४ सय भन्दा कम छ । नेकपा एमालेले २९ हजार ७ सय ७१ र नेपाली कांग्रेसले २९ हजार ३ सय ४३ मत पाएको देखिन्छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले १० हजार ९ सय ४० र राप्रपाले ६ हजार १ सय ९८ तथा नेकपा एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको देखिन्छ । स्थानीय चुनावमा एमालेसँग तालमेल गरेको राप्रपाको मत भने ५ हजार हाराहारी मात्रै छ ।
सत्ता गठबन्धनको ४५ हजार मत लिएर डा.अधिकारी चुनावी मैदानमा छन भने उनलाइ टक्कर दिन एमालेको २९ हजार मत सहित काङ्ग्रेसका बागी उम्मेदवार कोइराला मैदानमा छन् ।
त्यसैगरी राप्रपाका पाण्डे र काङ्ग्रेसकै अर्का बागी उम्मेदवार पौडेलले पनि जनताको साथ लिएर चुनाव जित्ने दाबी गर्दै आएका छन् ।