सिद्धान्त, पद्धति र अनुशासनलाई लोकतन्त्र देख्ने विवेक
प्रतिक भट्टनेपाली राजनीतिमा धेरैले इमान, इज्जत र प्रतिष्ठालाई भन्दा पद, पैसा र पावरलाई मुख्य ठान्छन् । पद, पैसा र पावर भएपछि जनता, कार्यकर्ता र साथीहरूलाई समेत बिर्सने जमात पनि ठुलै छ ।
तर, सबैमा यो कुरा लागू हुदैन । केही व्यक्तिको महत्वाकांक्षा र आफू मात्रै ठिक भन्ने घमण्डले कहिलेकाही स्वयं व्यक्ति पछाडि परेको उदाहरण थुप्रै छन् । त्यसैले कुनै ठाउँमा पुग्नुछ भने हतार नगरी आफ्नो विचार, सिद्धान्त र अनुशासनलाई पालना गर्दै अगाडि बढ्नु बुद्धिमानी हुनसक्छ ।
लोकतन्त्रमा प्रतिस्पर्धा सबैले गर्न पाउनुपर्छ र पाइन्छ पनि । तर प्रतिस्पर्धा गर्ने नाममा ‘म मात्रै ठिक’ भन्नुभन्दा पनि आफ्नो अवस्था, हैसियत र साथीहरूले कत्तिको पत्याउँछ्न भन्ने कुरालाई पनि हेर्नुपर्छ । यस्तै विचार र धारणा बोक्नेमध्येका एक युवा हुन विवेक लामा ।
नेपाली काँग्रेसको राजनीतिमा आवद्ध विवेक हाल नेपाली काँग्रेस बौद्धको इकाइ सभापति हुन । सामाजिक र धार्मिक संघसंस्थासँग पनि आबद्ध हुँदै अगाडि बढेका लामा २०४८ सालदेखि नै नेपाली काँग्रेसको राजनीतिसँग नजिक छन् ।
आफ्नो टोलमा र परिवारमा कोही पनि कम्युनिस्ट वा पञ्च नभएको र सुरुदेखी नै प्रजातान्त्रिक आन्दोलनमा समर्थन गर्ने परिवारमा जन्मेको कारण उनी काँग्रेसमा आबद्ध हुन सजिलो भयो । ‘हामी त जन्मँदै काँग्रेस भनेजस्तै हो’, हाँसो गर्दै विवेक भन्छन्- ‘काँग्रेसबाहेक अरु त सोच्नै सकिन्न ।
काठमाडौं-६ बौद्धमै जन्मिका विवेक बौद्ध क्षेत्र विकास समितिको सदस्यको जिम्मेवारीमा रहेर पनि सामाजिक र धार्मिक काममा सक्रिय रहे । सामाजिक संस्थामा आबद्ध रहदा पनि उनीमा राजनीतिक चेतना थियो । उनी राजनीतिमा सक्रिय हुन थालेको चाहिँ २०४८ सालमा काँग्रेसले आयोजना गरेको साइकल र्यालीदेखि हो । उनलाई त्यो दिन अहिलेपनि ताजै छ-‘एउटा फ्रुटी खान दिएको भरमा साइकल लिएर बौद्धदेखि कलङ्की र त्यसपछि काँग्रेसको कार्यक्रममा नगर परिक्रमा गरेर घर फर्केको थिएँ ।’
नेपाली काँग्रेस फुटेर शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेस प्रजातान्त्रिक गठन भएपछि विवेकले त्यसमा पनि आफुलाइ सक्रिय बनाए । उनको राजनीतिक जीवनमा एउटा अनौठो संयोग के पनि भयो भने उनको घरपरिवार, साथीहरू सबै काँग्रेस भएकोले कम्युनिस्टको संगत नै हुन पाएन । बरु उनी युवा क्लब र फुटबल क्लबमा समेत आबद्ध भए ।
विवेकले टुसाल युवा क्लबको सदस्य हुँदै सह-सचिव र दुई कार्यकाल अध्यक्ष भएर काम गरे । त्यसैगरी बौद्धनाथ क्षेत्र विकास समिति सदस्य, बौद्ध सामुदायिक सेवाको संस्थापक सदस्य, बौद्ध फुटबल क्लबको संस्थापक सदस्य रहेर काम गरेको अनुभव पनि उनमा छ ।
व्यवसायको रुपमा केही समय सहकारी संस्थामा पनि अध्यक्ष भएर चलाए । केही समय इलोक्ट्रोनिक पसलको संचालक पनि भए । अहिले भने विवेक नेपाली काँग्रेसको पार्टी काममा मात्रै व्यस्त छन् । उनी पार्टीको कामबाहेक पनि साथीहरूसँग विविध विषयमा छलफल गर्न रुचाउँछन् । छलफलमा उनले उठाउने विषय पनि गज्जबको छ ।
उनी प्रश्न गर्छन्- ‘अहिले राजनीतिमा लागेका केही युवाले अरुको देखासिकीमा हतार गरेको किन ?’, उनी भन्छन्- ‘राजनीतिमा धैर्यता, इमान्दारिता र लगनशीलता चाहिन्छ, यति भयो भने एकदिन पालो आइहाल्छ।’
अहिले केही युवाहरू राजनीतिमा आकर्षण देखेर ह्वात्तै अगाडी आउन खोजेको तर उनीहरुमा पार्टी अनुशासनमा बस्ने र पार्टी पद्धति बुझ्ने धैर्यता नै छैन । जो पार्टीमा लागेको छ उसले कुर्न सक्नुपर्छ । पार्टीमा लाग्नेलाइ अन्याय हुँदैन । एकदिन पालो सबैको आउँछ । पार्टीभन्दा म ठूलो छु, पपुलर छु भनेर स्वतन्त्रको धङधङी बोक्ने साथीहरूलाई विवेकको आग्रह पनि छ, ‘पार्टीमै रहेर पार्टी पद्धति र अनुशासन कायम गरौं, स्वतन्त्र ढंगले अगाडी बढ्न खोजेर एक्लै कहिँ पुगिदैन । पार्टी र पद्धति भुलेर ‘स्वतन्त्र’ भन्दै एक्लै हिँड्न खोज्नु हावामा उड्न खोजे जस्तो हो ।’
विवेक भन्छन्- ‘पार्टीमा लाग्दा पार्टीको सिद्धान्त, विचार, अनुशासन र कठोर जिम्मेवारी पार गर्नुपर्ने हुन्छ त्यसैले त्यो सबैले पार गर्न भन्दा छोटो (सर्टकट)बाटो अपनाउन खोजियो भने सफल हुन सकिन्न । अहिले काँग्रेसभित्र पनि र अरु पार्टीमा पनि प्रतिभावान् युवाहरू छन् । उनीहरुको समय आउँछ । अहिले स्वतन्त्र भनेर कुर्लिने भन्दा दशौं गुणा बढी क्षमता भएका युवा पार्टीमा छन् । तर, पार्टीको अनुशासनमा भएकाले उनीहरु चुप छन् । उनीहरुले विचार, राजनीति र अनुशासन बुझेका छन् ।’
आफ्नो परिवार मिलाउन नसक्ने मान्छे पार्टीमा केके न गर्छु भनेर घुर्की लगाउने परीपाटी बढेको भन्दै विवेकले आफू चाहिँ कहिल्यै त्यस्तो नगर्ने बताए । उनी भन्छन्- ‘अनुशासन ठूलो कुरा हो । नैतिकता र त्याग अनि धैर्यता ठूलो कुरा हो भन्ने बुझेर नै म पनि अग्रजको कुरा सुनेर अगाडि बढ्दै छु ।’